संविधान पारित भएपछि प्रचण्डले सहिद र बेपत्ता सम्झिए

| # |
|
|
३० भदौ - काठमाडौं, नेपालको संविधान २०७२ संविधानसभाको दुई तिहाई बहुमतबाट पारित भएको छ ! यसरि संविधान पारितपछि दलका शीर्ष नेताहरु प्रफुल्ल देखिएका छन् । संविधान पारित भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री सुशील कोइरालाले ७० वर्षदेखिको नेपाली जनताको सपना पूरा भएको भन्दै सबैलाई बधाई दिए ।
एमाले अध्यक्ष केपी ओलीले मुलुकमा विद्यमान लामो समयदेखिको संक्रमणकालको अन्त्य भएको प्रतिक्रिया दिए । उनले भने, ‘संविधानसभाबाट नयाँ संविधान पारित भएको छ । यसबाट सभासदहरु खुसी नै हुनुपर्छ ।’ उनले सम्पूर्ण नेपालीहरुले यो खुसीयालीमा दिपावली गर्नुपर्ने बताए ।
एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले आजको दिनमा आफू जीवनकै सबैभन्दा खुसी भएको प्रतिक्रिया दिए ।
यसैगरी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान निर्माण अभियानको नेतृत्वकर्ताको हिसाबले जनयुद्ध र आन्दोलनका सहित तथा बेपत्ता योद्धाहरुको स्मरण गरे । उनले भने, ‘यो महान सहित र बेपत्ताको सपनाको विजय हो । आम स्वाभिमानी नेपाली जनताको विजय हो ।’ उनले नेपाली जनताको आफ्नो संविधान आफैं लेख्ने ७० वर्षअघिदेखिको सपना पूरा भएको भन्दै उनले यो सपनाको लागि संघर्ष गर्ने सबैको खुसीको क्षण भएको बताए ।
उनले देशबाहिर रहेका नेपालीहरुलाई पनि हार्दिक बधाई तथा शुभकामना दिए । उनले भने, ‘यो कुनै सामान्य दिन होइन । म विभिन्न माग राखेर प्रक्रियाभन्दा बाहिर रहेका असन्तुष्ट पक्षहरुलाई पनि वार्ता र संवादमा आउन अनुरोध गर्दछु ।’
उनले अब देशलाई शान्ति र सम्वृद्धिको दिशामा एकीकृत रुपमा अभियानात्मक रुपमा अगाडि बढाउनुपर्ने विचार राखे । आन्दोलनकारी शक्तिलाई वार्तामा आउन आव्हान गर्दै उनले भने, ‘संधिवानसभाले बनाएको संविधान कुनै धर्मशास्त्र होइन, गतिशील दस्तावेज हो । यसको संशोधन हुन्छ । यसलाई सम्पूर्ण नेपालीहरुको जीतको रुपमा लिँदै अगाडि बढौं ।’
यसैगरी सभाध्यक्ष सुवास नेम्वाङले नेपाली जनताको लामो समयदेखिको चाहना र भावनालाई मूर्त रुपमा दिन सकेकोमा आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले केही औपचारिक कामहरु बाँकी भएपनि पारित भैसकेकोले सम्पूर्ण नेपालीहरुलाई बधाई तथा शुभकामना दिए । उनले भने, ‘यो तराई, मधेसदेखि हिमालसम्म सबैको संविधान हो । सबै राजनीतिक दलहरुको संघर्षको परिणाम हो ।’
उनले भने, ‘यही संविधानलाई टेकेर आफ्ना असन्तुष्टिहरु पूरा गर्नुहोस् । यही संविधानलाई पुष्ट गर्दै जाउँ । जनतालाई सबल बनाउँदै लैजाउँ ।’ सभाध्यक्ष नेम्वाङले यो संविधानलाई नेपालको संवैधानिक इतिहासमा तुलनात्मक रुपमा सबैभन्दा बढी जनमुखी र प्रगतिशील संविधान बनेको बताए । उनले भने, ‘यो जनताको अत्याधिक सहभागिताबाट बनेको संविधान हो । यो अतुलनीय छ । यसैमा टेकेर अगाडि बढौं ।’

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses