नेताहरु भन्छन्- नेपालको संविधान दक्षिण एसियामै उत्कृष्ठ बन्यो
#

 असोज- २, काठमाडौँ,। संविधानसभाबाट संविधान जारी हुँदा लोकतन्त्र, गणतन्त्र र सामाजिक न्याय संवैधानिक रुपमा संस्थागत हुनेमा राजनीतिक दलका नेताले जोड दिनुभएको छ ।
रिपोटर्स क्लबले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले संविधान जारी भएपछि दक्षिण एसियामै नेपाल बढी महिला प्रतिनिधित्व गराउने राष्ट्र हुने बताउनुभयो ।

“नेपालमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व संवैधानिक रुपमा सुनिश्चित गरिएको छ, यति सङ्ख्यामा दक्षिण एसियाका कुनै पनि देशमा प्रतिनिधित्व छैन, बङ्गलादेशमा २२ प्रतिशत सहभागिता छ, यस्ता विषय संविधानमा धेरै छन्”– उहाँले भन्नुभयो ।
प्रत्येकलाई सबै विषयमा सन्तुष्ट गर्न नसकिए पनि आधारभूत रुपमा संविधान ठीक छ, यसैको पृष्ठभूमिमा पछि संशोधनबाट थपघट गर्न सकिने भएकाले सबै शक्ति ऐतिहासिक क्षणमा एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।
हालै भारत भ्रमणबाट फर्कनुभएका नेता ज्ञवालीले संविधान जारी गर्ने प्रक्रियामा भारतीय संस्थापनको पूर्ण समर्थन रहेको जानकारी गराउनुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले दुई दिन संविधानसभा स्थगित गरी वार्ता गर्ने भनी सरकारले नाटक गरेको आरोप लगाउनुभयो ।
“प्रक्रियाविहीन ढङ्गले संविधानसभाको काम भएको छ, प्रक्रिया पूरा गरी केही दिन लम्ब्याएर पनि सहमतिको संविधान ल्याउन सकिन्थ्यो”– उहाँले भन्नुभयो ।
एनेकपा (माओवादी) का नेता टोपबहादुर रायमाझीले संविधानमा ६० प्रतिशत अधिकार संविधानमा संस्थागत गरे पनि ४० प्रतिशत संस्थागत गर्न बाँकी रहेको बताउनुभयो ।
“सकेको मुद्दालाई संस्थागत गरेका छौँ, बाँकी मुद्दालाई संस्थागत गर्दै जानेछौँ,तर आन्दोलन गर्दा पाइने अधिकार पनि गुम्न सक्ने भएकाले संविधान ल्याउन हामी सहमत भएका हौँ”– उहाँले भन्नुभयो । रासस

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza
,

0 comments

Write Down Your Responses

Powered by Blogger.